रुपेन्द्र पटेल
रौतहट, २० जेठ
यातायात कार्यालय गौर रौतहटबाट दुई जना बिचौलिया पक्राउ परेको छ । गौरको ट्रायल सेन्टरबाट दुई जना बिचौलियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो गएपछि आइतबार दुई जना जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् डिएपी एलिजा गिरीले बताइन् । पक्राउ पर्नेमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने बर्ष ४८ को श्यामनारायण साह रहेको छ । पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् । पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं बिचौलिया लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने गरेको स्थानियको भनाइ छ । उनिहरु ट्रायल प्रयोगात्मक परिक्षा पास गराइदिने भन्दै एक जनाबाट १० देखि ३० हजार रुपैया लिनेगरेको छ ।

