रौतहटमा हँसिया प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

रुपेन्द्र पटेल
रौतहट १४ चैत । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइवाले हँसियाले गर्दनमा प्रहार गर्दा उनकी श्रीमती अन्दाजी ३५ वर्षीय सोती माया  वाइबाको घटनास्थलमै मृत्यु भएको हो । दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमान तीर्थले हसियाले श्रीमतीको घाँटी रेटेर हत्या गरेका थिए ।
अत्याधिक मापसी सेवन गरेका तीर्थले श्रीमान श्रीमतीको विवाद हुँदा आफूले श्रीमतीलाई हसियाले घाँटी रेटी हत्या गरेको भन्दै गाउँमा आएर हल्ला गरेका थिए । गाउँलेलाई आफूले श्रीमतीको हत्या गरेको बताएका तीर्थले घरको आँगनमा आएर आफ्नै गर्दनमा आफैलाई हसियाले प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।
श्रीमतीको हत्या गरेर श्रीमान स्वयंले घरमा आएर आफ्नै घाटीमा हसियाले रेटेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम प्रकाश खनालले जानकारी दिएका छन् । घाइते तीर्थको अहिले चन्द्रनिगापुरस्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको डिएसपी खनालले जानकारी दिए ।
स्थानीयको खबरपछि घटनास्थलमा पुगेको प्रहरीले अहिले घटनाको मुचुल्का तयार गर्ने काम गरिरहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

Related Articles