रौतहट, ४ चैत । रौतहटको वृन्दावन नगरपालिकामा रहेको एक सामुदायिक विद्यालय राजनीतिक अखडा बन्दै गएको छ। वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरी खोरमा रहेको श्री प्राथमिक विद्यालय वृन्दावन राजनीतिकको अखाडा नै बनेको हो ।
सो विद्यालयमा व्यवस्थापन समितिको विषयमा चर्को राजनीतिक हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । २०७७ सालदेखि व्यवस्थापन समिति विहिन रहेको सो विद्यालयमा हालसम्म व्यवस्थापन समिति गठन हुन सकेको छैन। पुरानो समितिको अवधि २०७७ सालमा सकेपछि पुरानै समितिलाई थप एक वर्षको कार्यकाल चलाउन दिने अभिभावकहरूले सहमति दिएपछि २०७८ सालसम्म पुरानै समिति निरन्तरता दिएका थिए ।
तर पुरानो समितिको समय अवधि पुनः समाप्त भएपछि व्यवस्थापन समिति चयन गर्ने मुस्किल भएको छ।गत आर्थिक वर्ष २०७९/८० मा सो विद्यालयले तीनपटक अभिभावक भेला गरेपनि राजनीतिक दाउपेचले समिति गठन हुन सकेको छैन ।
यता चालु आर्थिक वर्षको ८ महिनामा तीनपटक अभिभावक भेला भइसक्दा पनि समिति गठन हुन सकेको छैन ।अब चौथोपटक अभिभावक भेला गर्ने तयारीमा रहेको वृन्दावन प्राथमिक विद्यालयका प्रधान अध्यापक वीरेन्द्र चौधरीले बताए ।
व्यवस्थापन समिति गठन नहुँदा सो विद्यालय यतिबेला अभिभावक विहीन नै बनेको छ ।व्यवस्थापन समिति गठन नहुँदा सो विद्यालयका बालबालिका अधिकांश सेवा सुविधाबाट वञ्चित बनेका छन् ।
अध्यक्ष पदको लडाई र राजनीतिक दाउपेचका कारण व्यवस्थापन समिति गठन नहुँदा सो विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरू आफू मनलाग्दी आउने र जाने गरेको अभिभावकहरूले बताउँछन् । शिक्षक शिक्षिका आएपनि विद्यालयमा मोबाइल चलाएर मात्रै बस्ने गरेको विद्यार्थीहरूको गुनासो रहेको छ ।