रौतहट, ३ चैत । रौतहटका ७ र कपिलवस्तुका १ जना गरी ८ जना बालकहरुलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाईएको छ । भारतको मुम्बइमा श्रमिकको रुपमा काम गरिरहेका बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा बाल हेल्प लाइन बारा, संरक्षण नेपाल बारा , सामुदायिक बिकास तथा सचेतना नेपाल मकवानपुर लगायतका गैरसरकारी संस्था र भारतीय प्रहरी मुम्बईको सहयोगमा उद्धार गरिएको हो ।
उनीहरुलाई भारतको मुम्बईबाट उद्दार गरी जिल्ला प्रहरी कार्यालय बाराको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक बिकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले बताए । नेपालबाट भारत जाने बालबालिकाहरुलाई सस्तो मूल्यमा काम गराउने गरेको उनको भनाई छ ।
गरिबी, अशिक्षा जस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेको मात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको उनले बताए ।
बालबालिकाहरुलाई तर्साएर, धम्क्याएर र कम ज्यालामा पनि काम गराउन सकिन्छ, अझ कतिपय कामहरु व्यस्कले भन्दा बालबालिकाहरुले छिटो र छरितो गर्न सक्छन्, त्यसका लागि पनि बालबालिकालाई भारत लग्ने गरिएको पाईएको उनले बताए ।
दलालहरुले नेपालबाट बालबालिकाहरुलाई फकाइफुल्याइ विभिन्न प्रभोलनमा पारेर विशेष गरी भारतको ब्याग फ्याक्ट्रीमा काममा लगाउने गरेको पाइएको कोइरालाको भनाइ छ । भारतको मुम्बईबाट यसभन्दा पहिले पनि ३० भन्दा बढी बालकको उद्दार र पारिवारिक पुर्नमिलन गराइसकिएको उनले जानकारी दिए ।