रौतहटमा तीन जना ईजाजत पत्र नभएको नक्कली डाक्टर पक्राउ

रौतहट, १४ फागुन । रौतहटमा तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं–१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव चौकमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं.१४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं–३ बस्ने २७ को मो.तबरेज आलम र यमुनामाई गाउपालिका वडा नं–२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगाएतका शल्यक्रिया हुँदै आएको भन्ने सुचनाको आधारमा उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
उनीहरुलाई गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने ईजाजत पत्र मांग गर्दा निजहरुसँग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको कारण पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको उनले जानकारी दिए । यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको उनले जानकारी दिएका छन् । केही बर्ष यता रौतहटमा दर्ता अनुमति पत्र नलिइ अस्पताल ब्यापक रुपमा संचालन भइरहेको पाइएको छ । सम्बन्धीत निकायले रौतहटमा सञ्चालित अस्पतालहरुको अनुगमन नगर्दा अकालमा नागरिकहरुले ज्यान गुमाउनु परिरहेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ । रौतहट जिल्लाभरीको निजि स्वास्थ्य संस्थाहरुको अबिलम्ब अनुगमन गर्न अध्यक्ष घिमिरेले माग गरेका छन् ।

ताजा समाचार

Related Articles