बारा, १४ फागुन । बारामा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएको छ । बाराको निजगढ नगरपालिका– ७ सहिद चोकमा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएको हो । सहिद चोकस्थित रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा आज मध्याह्न अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजना गम्भीर रहेका, एकको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको बताइएको छ । घाइते चारैजनाको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान र विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

