रौतहट,२० पुस । फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारीहरु तलबको माग गर्दै तीन दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । जनप्रतिनिधिबीचको आपसी विवादले नगरसभा हुन नसकेपछि शिक्षक कर्मचारीहरुले साउनदेखि तलब पाएका छैनन् । शिक्षक–कर्मचारीहरुले नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् ।
जनप्रतिनिधिबीचको बिवादले नगरसभा हुन नसकेपछि कोष तथा नियन्त्रण कार्यालयले बजेट निकाशा दिएको छैन । अहिले नगरपालिकाको कामकाज ठप्प छ । तत्काल तलब निकाशाको माग राखी नगरक्षेत्र अन्तर्गतका शिक्षक र नगरपालिकाका कर्मचारीहरु मिलेर बुधबारबाट धर्ना सुरु गरेका छन् ।
तलब नपाएसम्म पहिलो चरणको आन्दोलनस्वरुप दैनिक धर्ना जारी रहने शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादबले जानकारी दिए । धर्नाप्रति एक्यबद्धता जनाउँदै उनी फतुवा बिजयपुर पुगेका छन् । यसअघि पनि तलब माग्दै शिक्षक कर्मचारीले नगरपालिकामा तालाबन्दी गरेका थिए । नगरपालिकाका तत्कालीन नगरप्रमुख गोपाल राय यादब राजस्वको रकम हिनामिनाको आरोपमा बिशेष अदालतले दोषी ठहर गरेपछि निलम्बनमा परेका छन् ।
कार्यबाहक अध्यक्ष रहेको उपप्रमुख अमबेय खातुन र जनप्रतिनिधिबीचको विवादका कारण अहिलेसम्म नगरसभा हुन सकेको छैन । यहीकारण कर्मचारीको तलब निकाशा हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत शुरेन्द्र प्रधानले बताए । ‘नगरसभाको लागि कैयौँ पटक बैठक राख्न खोजको हौँ । तर जनप्रतिनिधिहरु आउनै मान्दैनन्,‘उनले भने, ‘नगरसभा हुन नसकेकै कारण बजेट निकाशा भएको छैन । यही कारण शिक्षक कर्मचारीले तलब नपाएका हुन् ।’
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाएका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको समय तोक्न तीन पटक लिखित सूचना पठाउदा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पत्र बुझ्न समेत नमानेकाले नगरसभा अन्यौल बनेको प्रमुख प्रशासकीय अधिकृत प्रधानले सुनाए ।