धम्की दिएर रंगदारी टेक्स रकम माग्ने श्रीभगवान रौतहट प्रहरीको फन्दामा

रौतहट, १९ पुस । रौतहटमा व्यापारीलाई पटक–पटक फोनमार्फत् धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार रौतहट प्रहरीको फन्दामा परेकाछन् । जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा बिजयपुर नगरपालिका–८ का कलवारलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पक्राउ परेका ३४ वर्षीय कलवारले एनसेलको नम्बर ९८०१५७७५१० बाट व्यापारीको मोबाईल फोनमा गत पुस १० गते देखि १८ गतेसम्म पटक पटक फोन गरेर व्यापारी र उनको छोरा छोरीलाई ज्यान मार्ने धम्की दिएर ५ लाखदेखि ५० लाख रुपैयाँ माग गरेको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

घटनाबारे पीडितले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गरेर उक्त नम्बरको मोबाइल प्रयोगकर्ता अभियुक्त कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरस् नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन् । पीडित व्यापारीको नाम खुलाउँदा उनको सुरक्षामा असर पर्न सक्ने भएकाले गोप्य राखिएको प्रवक्ता गिरीले बताइन् । आपराधिक कार्यहरुलाई निष्तेज पार्न नागरिकबाट आएको सूचनालाई गोप्य राख्दै अनुसन्धानबाट कलवारलाई नियन्त्रणमा लिएको उनको भनाइ छ । आपराधिक लाभ मुद्दाको कसुर दफा २१ को उपदफा ३५३ अनुसार ७ वर्ष कैद र ७० हजार जरिबानाको प्रावधान रहेको कानुन व्यवसायीले बताएका छन् ।

ताजा समाचार

Related Articles