रौतहट, १४ पुस । मुलुकमा बढदै गएका संकटको निकास अन्तरिम सरकारको गठन एक मात्रै विकल्प रहेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताएका छन् ।
आम जनता पार्टी निकट रहेका आईटी आर्मीद्वारा रौतहटको मौलापुर स्थित शहिद स्मृति सभाहलमा आयोजित तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नभएको बताउँदै उनले अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकोमा यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरे ।
अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने तपाई हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने दिन आईसकेको बताउँदै यसतर्फ सबै देशभक्त युवाहरुलाई गम्भीर हुन आजपा अध्यक्ष साहले अपिल गरे ।
आम जनता पार्टीको स्थापना दिवसको अवसरमा युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले भ्रष्टाचार विरूद्ध सशक्त भएर संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने भएका छन् ।

