वीरगञ्ज, ६ पुस । बर्सेनी रासायनिक मल अभाव झेल्दै आएको मधेश प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्जले यो वर्ष गहुँबालीका लागि आवश्यक डीएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को मंसिर २७ गतेसम्म डीएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार २९९ मेट्रिक टन मल जिल्ला–जिल्लामा पठाइसकिएको छ।
‘गहुँबाली छर्ने बेलामा किसानलाई डीएपी मल चाहिने हो’, उनले भने, ‘हामीले प्राप्त भएको डीएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ।’ गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ’, उनले भने।
‘करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ”, प्रमुख पाण्डेयले भने, “युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकाता र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्ने भन्ने हामीलाई सूचना प्राप्त भएको छ।’
त्यो मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या हुँदैन, उनको भनाइ छ। तर आउन लागेको भनिएको युरिया मल समयमा नआए पुनः रासायनिक मलको हाहाकार हुन सक्छ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०८०र८१ को पाँच महिनामा युरिया १५ हजार ८९४ मेट्रिक टन, डीएपी १९ हजार २१३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ।
पुरानो आल्या र चालु आर्थिक वर्ष २०८०र८१ मा प्राप्त मलमध्ये हालसम्म डीएपी १६ हजार २३ मेट्रिक टन, युरिया १९ हजार २९९ मेट्रिक टन र पोटास एक हजार ५९९ मेट्रिक टन मल जिल्लाजिल्लामा पठाइएको प्रमुख पाण्डेयले बताए। हाल युरिया १५१ मेट्रिक टन, डीएपी तीन हजार ८६७ मेट्रिक टन र पोटास ५७ मेट्रिक टन गोदाम मौज्दात रहेको उनले बताए।
अबको एक महिनाभित्रमा डीएपी २५ हजार मेट्रिक टन मल आउने निश्चित भएको प्रमुख पाण्डेयले जानकारी दिए। रासायनिक मल अभाव हुन नदिन मल प्राप्त भएलगत्तै मलखाद्य बाँडफाँड भएअनुसार जिल्ला–जिल्लामा मल पठाउँदै आएको उनले बताए।
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा अघिल्लो आर्थिक वर्ष २०७९र८० मा आएको युरिया ५५ हजार २९७ मेट्रिक टन, डीएपी ३० हजार ७६१ मेट्रिक टन मलमध्ये युरिया ४४ हजार ४८८ मेट्रिक टन, डीएपी २६ हजार ६०६ र पोटास एक हजार ७३१ मेट्रिक टन रासायनिक मल जिल्लाजिल्लामा वितरण गरेको छ।
सो अवधिमा पर्सा जिल्लामा मात्र युरिया चार हजार ७७० मेट्रिक टन, डीएपी दुई हजार ९४३ मेट्रिक टन र पोटास ४०४ मेट्रिक टन मल बिक्री गरिएको प्रमुख पाण्डेयको भनाइ छ।
मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनी मलको हाहाकार हुने गरेको उनले बताए।
सो कार्यालयमार्फत मधेश प्रदेशको आठवटै जिल्ला, वाग्मती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल पठाउँदै आएको छ ।

