गोल्मा राजाको दरबार संरक्षणमा स्थानीयको सक्रियता

रौतहट, २० मंसिर । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा अवस्थित गोल्मा राजाको दरबार परिसरलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागिपरेका छन् । करिब ८ सय मिटर अग्लो चुरे डाँडामा रहेको यो क्षेत्रमा बौद्ध बिहार निर्माण पनि गरिदैँछ । सेन बंशीय राजाहरुको इतिहास जोडिएको विश्वास गरिएको यो क्षेत्रको प्रवर्द्धन र संरक्षणमा राज्यका निकायहरुले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।

रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गोल्मा राजाको दरबार क्षेत्र परिसरलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागिपरेका छन् । यहाँ सेन वंशीय राजा गोल्माको दरबार रहेको विश्वास गरिँदै आएको छ । दरबारको टुडिखेल रहेको मानिएको यहि स्थानमा गोल्मा राजा बौद्ध बिहार निर्माण गर्न स्थानीय कस्सिएका हुन् । थाइल्याण्डबाट साढे ९ फिट अग्लो बैरी बिनासको मुर्ति ल्याएर यहाँ स्थापना गरिएको छ । झण्डै ५ सय किलो वजन रहेको यो मुर्ति स्थापना गर्न स्थानीयलाई सुरक्षा निकायले समेत साथ दिएको छ । २ करोड मूल्य बराबरको यो मुर्ति स्थापनाका क्रममा स्थानीयबासी बाजागाजाका साथ सहभागी भएका थिए । बैरी विनासको मुर्ति स्थापना गरिएपछि यो क्षेत्रको धार्मिक महत्व बढ्दै गएको छ ।

साढे ९ फिट अग्लो मुर्ति स्थापना गरिएको गोल्मा राजा बौद्ध बिहार क्षेत्रमा ६० फिट अग्लो बुद्धको मूर्ती बनाउने लक्ष्य स्थानीयको छ । त्यसका लागि उनीहरुले देश विदेशबाट पनि सहयोग जुटाउने पहल थालेका छन् । भने तीनै तहको सरकारबाट सहयोगको अपेक्षा गरेका छन् । बौद्ध विहारका लागि डीपीआर पनि तयार पारिएको छ । यही क्षेत्रमा ३ सयभन्दा बढि मानिसहरुले ध्यान गर्न मिल्ने ध्यान केन्द्र स्थापना गरी शान्ति क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य स्थानीयको छ । यो डाँडाबाट रौतहट, सर्लाही आसपासका क्षेत्रहरु मात्र नभइ मौसम सफा भएको बेला भारतका बिहार राज्यसम्मका दृश्यहरु देख्न सकिन्छ ।

३ सय ५० वर्ष पुरानो मानिएको यो दरबार क्षेत्र पुननिर्माणका क्रममा पुराना इँट्टा, सिक्का, कुँदिएका ढुङ्गा तथा भाँडाकुडाहरु भेटिएका छन् । यो क्षेत्रका बारेमा सत्यतथ्य पत्ता लगाउन पुरातात्विक विभागको टोलीले विस्तृत रुपमा उत्खनन् र खोज गर्नुपर्ने स्थानीयको भनाइ छ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएका स्थानीयलाई नगरपालिकाले पनि साथ दिएको छ ।

संरक्षणको अभावमा यो दरबारका भग्नावशेषहरुबाट इट्टा, ढुङ्गा लगायतका पुरातात्विक वस्तुहरु हराउँदै गएका छन् । ऐतिहासिक यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न तीनै तहको सरकारले ध्यान दिन जरुरी छ ।

ताजा समाचार

Related Articles