रौतहट,२२ साउन चन्द्रपुर
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजना गरेको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। चन्द्रपुरस्थित विभिन्न अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा संस्थाका सदस्य लक्षित गरी सात दिनसम्म विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरको अन्तिम दिन चन्द्रपुर सरकारी अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तव तथा चन्द्रानी अस्पतालका सञ्चालक डा. एके यादवको टोलीले ५४ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको संस्थाले जनाएको छ । सात दिनको अवधिमा कुल ४८५ जनाले प्रसूति, फिजिसियन, दन्त, आँखा तथा कान, बालरोग लगायत सात प्रकारका स्वास्थ्य सेवा प्राप्त गरेका थिए । समापन समारोह संस्थाका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रौतहट बचत संघका अध्यक्ष विभु पोखरेल प्रमुख अतिथि तथा नेफ्स्कुन, चन्द्रपुर नगरपालिका, विभिन्न अस्पतालका चिकित्सक, सहकारीकर्मी र सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने अस्पताल, चिकित्सक तथा संस्थाहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो। साथै, नेपाल सुनचाँदी व्यवसायी महासंघबाट उत्कृष्ट सम्मान प्राप्त गरेको चन्द्रपुर सुनचाँदी व्यवसायी संघलाई पनि बधाईसहित सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले चन्द्रोदय साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका स्वास्थ्यलगायतका सेवामूलक कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए ।

