रौतहट २२ साउन
रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । शुक्रबार बिहान चन्द्रपुर-४ गैडाटार राेड स्थित पुर्णिामा ट्रेडर्समा ग्यास लिन घण्टाै सम्म लामाे लाइन बसेका थिए । बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि सर्वसाधारण बिहानैदेखि डिलरको गोदाम अगाडि लामो लाइन बस्न बाध्य भएका छन्। कतिपय उपभोक्ताले अग्रिम रकम बुझाएर समेत घण्टौँ पालो कुर्नुपरेको गुनासो गरेका छन् । यो दृश्य रासायनिक मलको अभाव हुँदा देखिएको अवस्थासँग मिल्दोजुल्दो देखिन्छ । किसानहरूले अग्रिम भुक्तानी गरेर दिनभर लाइन बस्नुपरेको छ । अहिले उस्तै समस्या ग्यासमा दोहोरिएको भन्दै स्थानीयले आपूर्ति व्यवस्थामाथि प्रश्न उठाएका छन् । यता सरकारले भने देशभर ग्यासको अभाव नरहेको र पर्याप्त मौज्दात रहेको दाबी गर्दै आएको छ । तरर चन्द्रनिगाहपुर लगायतका बजारमा देखिएको वास्तविक अवस्था सरकारी भनाइसँग मेल खाँदैन । यदि अभाव छैन भने उपभोक्ताले किन बिहानैदेखि लाइन बस्नुपरेको छ ? किन अग्रिम रकम तिरेर पनि सिलिन्डर तुरुन्त पाउन सकिरहेका छैनन् ? यस्ता प्रश्नको स्पष्ट जवाफ सम्बन्धित निकायले दिन सकेको देखिँदैन । विज्ञहरूका अनुसार समस्या केवल आयातको मात्र नभई वितरण प्रणाली, आपूर्ति व्यवस्थापन, कृत्रिम अभाव सिर्जना, तथा बजार अनुगमनको कमजोरीसँग पनि जोडिएको हुन सक्छ । समयमै प्रभावकारी अनुगमन नहुँदा केही स्थानमा उपभोक्ताले अनावश्यक सास्ती बेहोर्नुपर्ने अवस्था सिर्जना हुने गरेको उनीहरूको भनाइ छ । सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनु राज्यको दायित्व हो । त्यसैले वास्तविक अवस्था बुझी पारदर्शी जानकारी सार्वजनिक गर्ने, वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा कृत्रिम अभाव वा कालोबजारी भए कडा कारबाही गर्ने जिम्मेवारी सम्बन्धित निकायको हो । सरकारी दाबीभन्दा नागरिकले भोगिरहेको वास्तविक अनुभव नै सेवाको प्रभावकारिताको प्रमुख मापदण्ड हुने भएकाले समस्या समाधानतर्फ तत्काल प्रभावकारी कदम चाल्न स्थानीयवासीले माग गरेका छन् ।

