रौतहट १७ साउन
चन्द्रपुर नगरपालिका–४ र ५ को सिमानामा रहेको राजकुलो दुई वर्षदेखि सरसफाइ र संरक्षणको अभावमा अतिक्रमणको चपेटामा पर्दै आएको थियो। कुलो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सिँचाइ तथा अन्य दैनिक प्रयोजनमा समेत सास्ती व्यहोर्दै आएका थिए । यसअघि सम्बन्धित वडा कार्यालयबाट आवश्यक पहल हुन नसकेपछि स्थानीय बासिन्दा स्वयं सक्रिय बनेका छन्। नागरिकहरूको पहलमा चन्द्रपुर नगरपालिकासँग मेसिन उपलब्ध गराइदिन अनुरोध गरिएको थियो। सोही अनुरूप नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा हिजोदेखि राजकुलो सरसफाइ अभियान सुरु गरिएको छ।
स्थानीयहरूले यो अभियानले कुलोको संरक्षण, अतिक्रमण नियन्त्रण तथा सिँचाइ व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। साथै, दीर्घकालीन रूपमा यस्ता सार्वजनिक सम्पत्तिको संरक्षणमा सम्बन्धित निकाय र स्थानीय समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।

