सर्लाही, १८ साउन
सर्लाहीको लालबन्दी नगरपालिका–१ बाट प्रहरीले करिब १०९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित दुई भारतीय नागरिकलाई सोमबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कार शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा कारको डिक्कीमा लुकाएर राखिएको २३ वटा पोकामा करिब १०९ किलोग्राम गाँजा फेला परेपछि चालक दीपक महतो र कारमा सवार अमन कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

