राैतहट १६ साउन
रौतहटको दुर्गा भगवती गाउँपालिकामा विश्व हिन्दु संघले सुनसरीसहित विभिन्न जिल्लामा भएका घटनाको विरोधमा शनिबार खबरदार र्याली आयोजना गरेको छ । विश्व हिन्दु संघका जिल्ला सचिव धर्मेन्द्र महतो, हिन्दु अभियन्ता आदर्श झा र विकास महतोको नेतृत्वमा आयोजित र्यालीमा हिन्दु युवा, साधुसन्त तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। पिपरा बजारबाट सुरु भएको र्याली मत्सरी र पचरुखी हुँदै पुनः पिपरा बजारस्थित दुर्गा मन्दिर अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सरकारसँग आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गरेका थिए। सभालाई सम्बोधन गर्ने वक्ताहरूले आफूहरू कुनै धर्मको विरोधी नभएको दाबी गर्दै पछिल्ला घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले केही अभिव्यक्तिमा कडा चेतावनीसमेत दिएका थिए । प्रदर्शनका क्रममा केहीबेर टायर बाल्ने विषयलाई लिएर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य तनाव उत्पन्न भए पनि अवस्था तत्कालै सामान्य बनेको थियो ।

