रौतहट, ४ कार्तिक । रौतहटको वृन्दावन नगरपालिकामा विशाल दंगल (कुस्ती) प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
आफ्नै पुरानो इतिहास, संस्कृति सम्बर्द्धन र खेलकुदको पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बृन्दावनको बिश्रामपुर स्थित चाँदी खोला नजिक लागेको दुर्गा मेलाको अवसरमा आयोजना गरिएको तीन दिवसीय दंगल प्रतियोगिता शनिबारबाट सुरु भएको हो । कुस्ती प्रतियोगितामा नेपाल तथा छिमेकी मुलुक भारतका चर्चित कुस्तीवाजहरुले कुस्ती खेल्दै छ ।
सो दंगलमा भारतका दिल्ली , हरियाना, बिहार, राजस्थान, अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, त्यस्तै नेपालका विभिन्न स्थानका पहलानहरुले कुस्तीको माध्यमले दर्शकहरुलाई मनमोहित गरेको हो । शनिबार कुस्ती प्रतियोगितामा अवलोकन गर्न रौतहटसहित बारा, पर्सा, सर्लाही जिल्लाका हजारौं दर्शकको उपस्थिति थियो । नेपाल तथा भारतका ५२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्तीबाजहरुको कुस्ती कला प्रस्तुत हुँदै छ । जसमा ११ जना महिला खेलाडीको सहभागिता थियो ।
शनिबार भएको खेलमा नेपालका चर्चित कुस्तीबाज देवा थापा र भारतीय खेलाडी शंकर सिन्हाको प्रस्तुतिले दर्शकलाई रोमाञ्चक बनाएका थिए ।
वृन्दावन नगरपालिकाके आर्थिक सहयोगमा सुरु भएको कुस्ती प्रतियोगिता शुक्रबार वृन्दावन नगरपालिका वडा नं–१ का वडाअध्यक्ष रामनाथ सहनी र वडा नं–२ का वडाअध्यक्ष सिकिन्द्र पटेलले संयुक्त रुपमा उद्घाटन गरेको थियो ।
कुस्ती प्रतियोगितालाई गरुडा नमुना माबिका प्रधानाध्यापक प्रभु पटेलले उदघोषको माध्यमबाट झन आकर्षक बनाएका थिए ।

