ड्रोनबाट अवाञ्छित गतिविधि नियाल्दै रौतहट प्रहरी

 रुपेन्द्र पटेल
रौतहट, २१ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरमा पहिलो पटक ड्रोनमार्फत सुरक्षा निगरानी सुरु गरेको छ । खुला सीमा, तस्करी, लागूऔषध कारोबार तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधिको प्रभावकारी निगरानीका लागि प्रहरीले यो प्रविधि प्रयोगमा ल्याएको हो ।
प्रहरीले मोबाइल गस्तीसँगै ड्रोन परिचालन गरी गौरका विभिन्न संवेदनशील क्षेत्रमा आकाशबाट निगरानी थालेको जनाएको छ । पछिल्लो समय लागूऔषध सेवन तथा कारोबार, सार्वजनिक स्थानमा होहल्ला, तीव्र गतिमा मोटरसाइकल चलाउने तथा अन्य आपराधिक गतिविधिसम्बन्धी गुनासा बढेपछि निगरानीलाई थप प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले ड्रोनमार्फत जमिनबाट निगरानी गर्न कठिन हुने स्थान र शङ्कास्पद गतिविधिमाथि वास्तविक समयमै निगरानी राख्न सहज हुने बताउनुभयो । उहाँका अनुसार हाल गौरको महादेवपट्टी, झोलुङ्गे पुल क्षेत्रलगायत संवेदनशील स्थानमा एउटा ड्रोन परिचालन गरिएको छ ।
प्रहरीले आवश्यकता र स्रोतको उपलब्धताअनुसार थप ड्रोन व्यवस्थापन गरी गौरबाहेक जिल्लाका अन्य संवेदनशील क्षेत्रमा पनि निगरानी विस्तार गर्ने योजना बनाएको छ ।
यो अभियान जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालको पहलमा सुरु गरिएको हो । उहाँले परम्परागत गस्ती मात्र पर्याप्त नभएकाले प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले ड्रोन परिचालन गरिएको बताउनुभयो ।
“नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने तथा अपराध हुनुअघि नै रोकथाम गर्ने रणनीतिअनुसार ड्रोन प्रयोग गरिएको हो,” उहाँले भन्नुभयो ।
भारतसँग खुला सीमा जोडिएको रौतहटमा चोरी–तस्करी, लागूऔषध कारोबार तथा फरार व्यक्तिको आवतजावत सुरक्षा निकायका लागि चुनौतीका रुपमा रहँदै आएको छ । यद्यपि हाल ड्रोन निगरानी गौर बजार क्षेत्रमा केन्द्रित रहेकाले यसको प्रभावकारिता आगामी दिनमा मूल्याङ्कन हुने प्रहरीको अपेक्षा छ ।
सुरक्षा विश्लेषकका अनुसार ड्रोन निगरानीले भीडभाड तथा संवेदनशील क्षेत्रको अनुगमन सहज बनाउनुका साथै घटनापछिको प्रमाण सङ्कलनमा पनि सहयोग पुग्न सक्छ । यद्यपि यसको प्रभावकारिता बढाउन पर्याप्त जनशक्ति, प्राविधिक क्षमता, स्पष्ट कार्यविधि तथा नागरिकको गोपनीयताको संरक्षण सुनिश्चित गर्नुपर्ने उनीहरूको सुझाव छ ।
प्रहरीले तीव्र गतिमा सवारी चलाउने, सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गर्ने, लागूऔषध प्रयोग वा कारोबारमा संलग्न व्यक्ति तथा अन्य शङ्कास्पद गतिविधिमाथि विशेष निगरानी राखिने जनाएको छ । साथै, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न र शङ्कास्पद गतिविधिबारे तत्काल प्रहरीलाई सूचना दिन नागरिकसँग आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles