रौतहट, २३ असार। रौतहटको गरुडामा मदिरा पसललाई अवैध हतियारको कारोबारको अखडा बनाइएको आशंका उब्जिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले गरेको छापामा एक व्यक्तिबाट लोड गरिएको कटुवा पेस्तोल, थप गोली, नगद र लागूऔषध बरामद भएपछि घटनाले सुरक्षा निकायको ध्यान तानेको छ।
सोमबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय गरुडा र सशस्त्र प्रहरी बलको बेस दुधियाभरबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका–५ स्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा छापा मारेको थियो। प्रहरीले गरुडा–९ निवासी ४२ वर्षीय सदरे आलमलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा एक राउन्ड गोली लोड गरिएको कटुवा पेस्तोल र दुई थान नाइट्रोभेट ट्याब्लेट फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउपछि गरिएको सोधपुछका क्रममा आलमले दिएको सूचनाका आधारमा घटनास्थल नजिकै खोलाको किनारमा रहेको झाडीबाट थप पाँच राउन्ड गोली, ३२ हजार ५०० रुपैयाँ नेपाली र २४ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानले हतियारको कारोबारसँग सम्बन्धित थप सञ्जाल हुन सक्ने संकेत देखाएको भन्दै प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद नगद हतियार कारोबारसँग सम्बन्धित हो वा अन्य प्रयोजनका लागि थियो भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेका आलमविरुद्ध हातहतियार तथा खरखजाना र लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषय पनि प्रहरीले खोतलिरहेको जनाएको छ।

