राैतहट १९ असार
रौतहट, चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित जनशक्ति माध्यमिक विद्यालयका एसईई २०८२ ब्याचका विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था पूर्ण विद्यार्थी मञ्च को आयोजनामा सम्पन्न कार्यक्रममा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरिएको हो।
एसईई २०८२ मा विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गरेका छात्र अनिस गौतम लाई नगद रु. ५,००० सहित सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो ।

सोही अवसरमा “वातावरण संरक्षणमा विद्यार्थीको भूमिका” विषयक आधारभूत तह (कक्षा १–८) स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रतियोगितामा जनशक्ति माध्यमिक विद्यालय, जनहित सामुदायिक आधारभूत विद्यालय र गैडाटार एकेडेमीका गरी प्रत्येक विद्यालयबाट तीन/तीन जना गरी नौ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा गैडाटार एकेडेमीकी प्रकृति तिमल्सिना प्रथम, सोही विद्यालयका मनिक पाख्रिन द्वितीय र जनशक्ति माध्यमिक विद्यालयका पासाङ योञ्जन तृतीय भए। त्यसैगरी जनहित सामुदायिक आधारभूत विद्यालयका सुगम सापकोटा र खुशी वाइबा ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
पूर्ण विद्यार्थी मञ्चका संयोजक भास्कर धिमाल का अनुसार प्रथम हुनेलाई नगद रु. ३,०००, द्वितीयलाई रु. २,०००, तृतीयलाई रु. १,००० तथा सान्त्वना प्राप्त दुवै विद्यार्थीलाई जनही रु. ५०० नगद, सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जनशक्ति माविका प्रधानाध्यापक रेनुका जिसिले विजेताहरुलाई पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएकाे थियाे । प्रतियोगितामा निर्णायककाे भुमिका प्रियंका ठाकुर , दिपक श्रेष्ठ , दुतराज थिङ र जीवन कटुवालले निर्वाह गर्नु भएकाे थियाे ।
कार्यक्रममा एसईई २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै सामुदायिक विद्यालयतर्फ रौतहट जिल्लामै प्रथम स्थान हासिल गरेको भन्दै जनशक्ति माध्यमिक विद्यालय तथा विद्यालयका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा दीपेन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उपेन्द्र गोले तामाङले गरेका थिए। विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रियतामा आयोजित सम्मान तथा शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन् । कार्यक्रममा स्थानिय समाजसेवि , पुर्ण विद्यार्थी , शिक्षकशिक्षिका , अभिभावक लगायतकाे सहभागीता रहेकाे थियाे ।

