रौतहटमा जग्गा विवादका क्रममा चक्कु प्रहार, एक जनाको मृत्यु

रौतहट, २४ असार। रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति करिब सवा ८ बजे स्थानीय रामबहादुर साहको परिवार र रामाऔतार साहको परिवारबीच जग्गाको विषयमा विवाद हुँदा झैँ–झगडा र कुटपिट भएको थियो । सोही क्रममा रामाऔतार साहका २६ वर्षीय छोरा राम महेश्वर साहले रामबहादुर साहका ज्वाइँ वुटन साहमाथि चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट ढाडमा गम्भीर घाइते भएका वुटन साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारकै क्रममा राति ९ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनापछि प्रहरीले चक्कु प्रहार गरेको आरोपमा राम महेश्वर साह तथा उहाँका बुबा रामाऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले घटनाको कारण, विवादको पृष्ठभूमि तथा चक्कु प्रयोगसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles