विवादका कारण अलपत्र रहेका नाला र मन्दिर वडा अध्यक्ष बिजय यादवको पहलमा निर्माण सम्पन्न

कृष्ण तिवारी, रौतहट २१ असार । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ घुसुकपुरमा लामो समयदेखि विवादका कारण अलपत्र अवस्थामा रहेको नाला अन्ततः निर्माण सम्पन्न भएको छ। स्थानीयका अनुसार वडा अध्यक्ष विजय यादवको निरन्तर पहल, समन्वय र अथक प्रयासपछि नाला निर्माण कार्य सम्पन्न भएको हो।
स्थानीय जग्गासम्बन्धी विवादका कारण लामो समयदेखि नाला निर्माण रोकिएको थियो। नाला नहुँदा वर्षायाममा घर–घरमा पानी पस्ने समस्या रहँदै आएको थियो। निर्माण सम्पन्न भएसँगै स्थानीयवासीले वर्षौंदेखिको समस्याबाट राहत मिल्ने अपेक्षा गरेका छन्।
त्यसैगरी वडा नं. १ बैरगनियामा जीर्ण अवस्थामा रहेको माइ भगवती मन्दिर पनि जग्गा विवादका कारण निर्माण हुन सकेको थिएन। वडा अध्यक्ष विजय यादवको निरन्तर पहल र वडास्तरीय बजेटबाट मन्दिर निर्माण कार्य सम्पन्न भएको स्थानीयले बताएका छन्।
स्थानीय नन्दकिशोर यादवका अनुसार वडा अध्यक्ष यादवको पहलमा गम्हरियामा ढलान कार्य, नाला निर्माण, विद्यालय भवन निर्माण, कृषि सडक, मठ–मन्दिर निर्माण लगायत दर्जनौं विकास निर्माणका काम सम्पन्न भएका छन्।
स्थानीयवासीले विकास निर्माणमा देखिएको सक्रियता र विवाद समाधानका लागि गरिएको पहलप्रति वडा अध्यक्ष विजय यादवको प्रशंसा गरेका छन्।

ताजा समाचार

Related Articles