रुपेन्द्र पटेल
रौतहट, ५ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले विपद् आएपछि उद्धारमा दौडिनुभन्दा त्यसअघि नै तयारीमा जुट्नुपर्ने बताएका छन्। हरेक वर्ष बाढी, डुबान र नदी कटानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला मन्त्री महतोले पूर्वतयारीलाई नै विपद् व्यवस्थापनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका हुन्।
रौतहटको बागमतीस्थित नुनथरमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले आयोजना गरेको जल उद्धारसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उनले विपद्पछिको उद्धारभन्दा विपद्अघिको तयारी बढी प्रभावकारी, व्यवस्थित र कम खर्चिलो हुने बताए।
नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै मन्त्री महतोले जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित दोहन, नदीको बहावमा आएको परिवर्तन तथा बढ्दो मानवीय गतिविधिका कारण बाढी, डुबान, पहिरो र नदी कटानका घटना बढ्दै गएको बताए। विशेषगरी मधेश प्रदेशका अधिकांश जिल्ला वर्षायाममा उच्च जोखिममा रहने भएकाले पूर्वसावधानीलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
उनले विपद् व्यवस्थापनमा पूर्वतयारी, जनचेतना र निकायगत समन्वय बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता अभ्यासले वास्तविक विपद्का बेला आवश्यक दक्षता र तत्परता विकास गर्न सहयोग पुग्ने बताए। सुरक्षा निकायबीच समन्वय बढाउनुका साथै नागरिकमा विपद् सचेतना फैलाउन पनि यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट ले विपद् व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको बताए। विपद्का बेला तीनै तहका सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच प्रभावकारी समन्वय तथा सामूहिक संकल्प अपरिहार्य रहने उनको भनाइ थियो।
कार्यक्रममा जल उद्धारका विभिन्न अभ्यास, उद्धार सामग्रीको प्रयोग, प्राथमिक उपचार तथा बहुनिकाय समन्वयसम्बन्धी प्रदर्शन गरिएको थियो। कार्यक्रममा रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न स्थानीय तह र सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

