रौतहट २० बैशाष
रौतहटमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अमानवीय व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कटहरिया नगरपालिका–९, डुमरिया टोलकी ५५ वर्षीया एकल महिला गौरी कलवारमाथि सोही स्थानका ३० वर्षीय शंकर माझीले बोक्सीको आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। पीडितका अनुसार आरोपितले उनलाई जबर्जस्ती मलमुत्र खुवाउने जस्तो अमानवीय तथा अपमानजनक व्यवहारसमेत गरेका थिए । घटनापछि पीडितले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही आधारमा आइतबार माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बत्स्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ भने पक्राउ परेका माझीमाथि थप अनुसन्धान जारी रहेको छ । स्थानीय स्तरमा अझै पनि बोक्सी आरोप जस्ता कुप्रथाका कारण महिलामाथि हुने हिंसाका घटनाले चिन्ता बढाइरहेको सरोकारवालाहरूले बताएका छन् ।

