पौराई ब्रह्मस्थानमा १०८ शिवलिङ स्थापना अभियान : जनसहयोगमै धार्मिक पर्यटनको नयाँ सम्भावना

रौतहट १९ बैशाष
चन्द्रपुर नगरपालिका–१ पौराईस्थित ऐतिहासिक पौराई ब्रह्मस्थान मन्दिरमा १०८ शिवलिङ स्थापना गर्ने महत्वाकांक्षी अभियान अघि बढाइएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थललाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले शिवलिङ स्थापना तथा कैलास पर्वत परिक्रमा स्थल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको हो । पौराई ब्रह्मस्थान निर्माण सुधार समितिका अध्यक्ष रामशरण तिमल्सिनाका अनुसार, १०८ शिवलिङ प्रतिस्थापनका लागि आवश्यक फाउण्डेसन निर्माण कार्य सम्पन्न भइसकेको छ । साथै, कैलास परिक्रमा स्थल अन्तर्गत निर्माण गरिने ‘कैलास पर्वत’को संरचना मधेश प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत निर्माण भईसकेको छ ।
उक्त अभियानको विशेषता भनेको—१०८ शिवलिङ निर्माणका लागि कुनै पनि तहको सरकारी लगानी नलिइने निर्णय हो । “राज्यको सहयोग बिना पनि ३०–४० लाख रुपैयाँ बराबरको शिवलिङ निर्माण सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्न खोजिएको अध्यक्ष तिमल्सिनाको भनाई रहेको छ । स्थानीय अभियानकर्ता मोहन प्रसाईले जनसहयोगकै बलमा धार्मिक कार्य सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे । “यो केवल निर्माण मात्र होइन, हाम्रो आस्था, एकता र पहिचानको अभियान भएको प्रसाइको दावी रहेको छ । त्यसैगरि मन्दिर संरक्षण समितिका सदस्य लक्ष्मण न्यौपानेका अनुसार, विभिन्न सहयोगदाताहरूबाट सहयोग आउने क्रम जारी रहेकोले निर्माण कार्य चाँडै सम्पन्न हुनेमा समिति आशावादी रहेको छ । उनले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण यस परियोजनामा संस्थागत तथा व्यक्तिगत सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भयो ।
“राज्यबाट आएको बजेट अन्य आवश्यक संरचना निर्माणमा प्रयोग गरिरहेका छौं, तर १०८ शिवलिङ निर्माण भने पूर्ण रूपमा जनसहयोगमै आधारित हुनेछ,” स्थानीय अभियान्ताहरूले बताएका छन । स्थानीयवासीहरूका अनुसार, यस परियोजनाले पौराई ब्रह्मस्थानलाई नयाँ स्वरूप दिनेछ र भविष्यमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको प्रमुख केन्द्र बन्ने अपेक्षा गरिएको छ । धार्मिक आस्था, स्थानीय पहल र सामूहिक सहयोगको उदाहरणका रूपमा अघि बढिरहेको यो अभियान सफल भएमा, पौराई क्षेत्र धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।

ताजा समाचार

Related Articles