रौतहटमा २५७० औँ बुद्ध जयन्ति भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश फैलियो

रौतहट, चन्द्रनिगाहपुर १८ बैशाष
२५७० औँ बुद्ध जयन्तिको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा शुक्रबार भव्य कार्यक्रमका साथ बुद्ध जयन्ति मनाइएको छ । धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई सशक्त बनाउने उद्देश्यले आयोजित कार्यक्रममा हजारौँ बौद्ध धर्मावलम्बी, विद्यार्थी, शिक्षक तथा धर्मगुरुहरूको उल्लेखनीय सहभागिता रहेको थियो । गैडाटार, बागमती, पौराई, कप्तान टोल, टेकान, थोकर टोल तथा सिन्धुरेघारी लगायत विभिन्न स्थानबाट सहभागीहरू भेला भई चन्द्रपुर नगर क्षेत्रमा बृहत् शान्ति र्‍याली निकालेका थिए । शान्ति, अहिंसा र सहिष्णुताको सन्देश बोकेको उक्त र्‍याली चन्द्रपुर–९ स्थित सिन्धुरेघारी मरदर पुगेर विशेष धार्मिक कार्यक्रमसँगै सम्पन्न भएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा ४ फिट अग्लो शाक्यमुनि भगवान बुद्धको मूर्ति हस्तान्तरण तथा अनावरण गरिएको थियो । बौद्ध जागरण केन्द्र, काठमाडौंका केन्द्रीय अध्यक्ष बसन्त लामाद्वारा उक्त मूर्ति देछेन छयोइलिङ गुम्बाका अध्यक्ष शिवराम तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
धार्मिक प्रवचनतर्फ गुम्बा विकास समितिका पूर्व अध्यक्ष, श्रद्धेय धर्मगुरु गेसे खेन्पो थुप्तेन जिगडोल ज्युले बौद्ध धर्मका मूल मन्त्रहरू, करुणा, मैत्री र मध्यम मार्गको महत्वबारे गहिरो धर्मदेशना दिनु भएको थियो । उहाँले वर्तमान समाजमा बुद्धका शिक्षाहरू अझ सान्दर्भिक भएको उल्लेख गर्दै आचरणमा उतार्नु पर्नेमा जोड दिनुभयो ।


त्यसैगरी, भिक्षु महासंघका केन्द्रीय सदस्य तथा गोल्मा राजा बुद्ध विहार, चन्द्रपुर–१ का प्रमुख गुरु भन्ते मेधंकर स्थवीरले बुद्धका सन्देशहरू व्यवहारमा लागू गर्न सके मात्र समाजमा दीर्घकालीन शान्ति स्थापना सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाल तामाङ घेदुङ रौतहट, नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समिति तथा चन्द्रपुर क्षेत्रका विभिन्न बौद्ध गुम्बाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको थियो भने औपचारिक कार्यक्रम देछेन छयोइलिङ गुम्बा, सिन्धुरेघारीले आयोजना गरेको थियो ।
कार्यक्रममा स्युडुप फेन्दे बौद्ध गुम्बा (कप्तान टोल), गोल्मा राजा बुद्ध विहार (चन्द्रपुर–१), तेन्पा दार्गेलिङ बौद्ध गुम्बा (गैडाटार), छयुटिन तामाङ गुम्बा (जुडिबेला), टासिलिङ बौद्ध गुम्बा (बागमती), बौद्ध छ्योर्तेन गुम्बा (बागमती क्यान्टिन बजार) लगायतका धार्मिक संस्था तथा जनजागृति मावि सिन्धुरेघारी, सुर्यादय बोर्डिङ स्कुल, गैडाटार एकेडेमी जस्ता शैक्षिक संस्थाहरूको समेत सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले बौद्ध धर्मका आदर्शहरू—शान्ति, अहिंसा, करुणा र सहअस्तित्व—लाई समाजमा अझ मजबुत बनाउँदै धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन् ।

ताजा समाचार

Related Articles