रौतहटमा २५७० औं बुद्ध जयन्ति भव्य रूपमा मनाइने

रौतहट १७ बैशाष
शान्ति, करुणा र अहिंसाका प्रतिमूर्ति गौतम बुद्धको २५७० औं जन्म जयन्ति रौतहटमा भव्यताका साथ मनाइने भएको छ । २५७० औं बुद्ध जयन्ति मूल समारोह समिति रौतहटको आयोजना तथा चन्द्रपुर–९, सिन्धुलीघारीस्थित देछेन छयोइलिङ बौद्ध गुम्बाको सहआयोजनामा यही वैशाख १८ गते शुक्रबार विशेष कार्यक्रम सम्पन्न हुने तय गरिएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सहआयोजक गुम्बाका अध्यक्ष शिवराम तामाङले जानकारी दिएका छन्। उनका अनुसार बुद्ध जयन्तिलाई ऐतिहासिक र स्मरणीय बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समेटिएको छ । उक्त अवसरमा रौतहटका विभिन्न स्थानबाट श्रद्धालुहरू चन्द्रनिगाहपुरको मेन रोड चोकमा भेला भई बृहत् शान्ति र्याली निकाल्ने कार्यक्रम रहेको छ । र्यालीले चन्द्रपुर नगरको परिक्रमा गर्दै चन्द्रनिगाहपुर बजार मरदर हुँदै चन्द्रपुर–९ स्थित देछेन छयोइलिङ बौद्ध गुम्बामा पुग्नेछ । सोही स्थलमा भगवान बुद्धको मूर्ति हस्तान्तरण तथा अनावरण गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा थुप्तेन जिगडोल (गुरु गेसे खेन्पो) र भिक्षु महासंघका केन्द्रीय सदस्य तथा गोल्मा राजा बुद्ध विहार, चन्द्रपुर–१ का प्रमुख गुरु मेधंकर स्थवीरद्वारा संयुक्त रूपमा धर्मदेशना, प्रवचन तथा वाङ अभिषेक कार्यक्रम सञ्चालन गरिनेछ । बुद्ध जयन्तिको पावन अवसरमा रौतहटका सम्पूर्ण बौद्ध धर्मावलम्बी, लामा, बोन्बो, विद्यार्थी, शिक्षक, अभिभावक तथा सरकारी एवं गैरसरकारी संघ–संस्थाका कर्मचारीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आयोजकले आग्रह गरेको छ ।
बुद्धका उपदेशले विश्वलाई शान्ति, सहिष्णुता र सहअस्तित्वको मार्ग देखाएको सन्दर्भमा यस किसिमका कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास आयोजकहरूको रहेको छ ।

ताजा समाचार

Related Articles