राैतहट १ फागुन
रौतहटको बृन्दावन नगरपालिका–७ स्थित मसिद टोल, धमौरामा रहेको एक मदरसा अत्यन्तै दयनीय अवस्थामा रहेको पाइएको छ। स्थानीय रूपमा सञ्चालन हुँदै आएको रामदरसा इस्लामिया फैजुल उलुम सखौरा, धमौरा को भौतिक पूर्वाधार कमजोर बन्दै जाँदा त्यहाँ अध्ययनरत बालबालिकाको भविष्य नै जोखिममा परेको देखिन्छ । मदरसा परिसरमा रहेका कक्षाकोठाहरू व्यवस्थित छैनन् । भित्ताहरू चर्किएका छन् भने छानाबाट पानी चुहिने समस्या रहेको बताइएको छ । पर्याप्त फर्निचरको अभावका कारण विद्यार्थीहरू भुइँमै बसेर अध्ययन गर्न बाध्य छन् । खानेपानीको उचित व्यवस्था नहुँदा विद्यार्थीहरू स्वच्छ पानीबाट वञ्चित छन्। त्यस्तै, शौचालय (चर्पी) को अभावले सरसफाइमा गम्भीर समस्या उत्पन्न भएको छ। फोहोर व्यवस्थापन नहुँदा वातावरण दुर्गन्धित बनेको स्थानीयहरूले बताएका छन् । स्थानीय अभिभावकहरूका अनुसार मदरसा व्यवस्थापन समिति र सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक छ । उनीहरूले तत्काल भौतिक संरचना सुधार, खानेपानी तथा शौचालयको व्यवस्था र सरसफाइमा विशेष पहल गर्न माग गरेका छन् । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाहीले विद्यार्थीहरूको स्वास्थ्य र शिक्षण सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पर्ने देखिन्छ। सम्बन्धित निकायले शीघ्र निरीक्षण गरी आवश्यक बजेट तथा योजना मार्फत मदरसाको स्तरोन्नति गर्नुपर्ने माग बढ्दै गएको छ।


