रौतहटको जयनगरमा घाँटी र पेट चिरेर बाख्रा मार्ने जनावरको खोजीमा वन र निकुञ्ज

   रुपेन्द्र पटेल
रौतहट, १४ साउन । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा यतिबेला एउटा रहस्यमय जनावरले आतंक मच्चाएको छ। दुई-तीन दिनको अन्तरालमै डेढ दर्जनभन्दा बढी बाख्रा मारेपछि गाउँ नै त्रसित बनेको छ। तर, बाख्रा मार्ने जनावर कुन हो भन्ने प्रश्नको जवाफ भने सम्बन्धित निकायसँग समेत छैन ।

लगातार बाख्रा मर्न थालेपछि डिभिजन वन कार्यालय रौतहटले पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर अनुसन्धान थालेको छ । बिहीबार घटनास्थलमा क्यामेरा ट्र्याप जडान गरिएको छ । क्यामेरामा कैद भएपछि मात्रै रहस्य खुल्ने वन कार्यालयको अपेक्षा छ ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज ठाकुरका अनुसार जनावर जङ्गली हो वा अन्य कुनै प्रजातिको हो भन्ने यकिन भइसकेको छैन । पहिचान भएपछि मात्रै आवश्यक निर्णय लिइने र जङ्गली जनावर भए सुरक्षित रूपमा नियन्त्रणमा लिएर वन क्षेत्रमा छाडिने उनले बताए ।

स्थानीयका अनुसार जनावरले बाख्रालाई खानेभन्दा पनि घाटी र पेट चिरेर छाड्ने गरेको छ । यही अस्वाभाविक शैलीका कारण गाउँमा अनेक अड्कलबाजी सुरु भएको छ। कतिपयले चितुवा हुन सक्ने अनुमान गरेका छन् भने कतिपयले अन्य जङ्गली जनावरको आशंका गरेका छन् । यद्यपि, कुनै पनि अनुमानको आधिकारिक पुष्टि भएको छैन ।

स्थानीय लालबाबु साहका अनुसार बाख्रा चरिरहेका बेला जनावरले अचानक आक्रमण गर्ने गरेको छ। अर्का स्थानीय सन्तोष यादवका अनुसार हालसम्म जयनगरमा मात्रै डेढ दर्जनभन्दा बढी बाख्रा मारिइसकेका छन् ।

घटनाले गाउँमा त्रास बढेपछि स्थानीयले अब मानवमाथि पनि आक्रमण हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जनावरको तत्काल पहिचान गरी नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

वन कार्यालयले भने क्यामेरा ट्र्यापबाट प्राप्त दृश्यका आधारमा अनुसन्धान अघि बढाइने जनाएको छ । अहिले जयनगरका बासिन्दाको एउटै प्रतीक्षा छ- आखिर यो रहस्यमय शिकारी को हो ?

ताजा समाचार

Related Articles