मधेसको जाडो र गरिबको पिडा !

रुपेन्द्र पटेल
रौतहट,२१ पुस  । लगातार बढ्दो जाडो र शीतलहरका कारण रौतहट जिल्लाको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । बिहानदेखि चल्न थालेको चिसो हावासँगै तापक्रम थप घटेपछि गरिब, विपन्न तथा सीमान्तकृत समुदायको दैनिकी नै ठप्प बनेको छ ।
चन्द्रपुर नगरपालिका–९ स्थित मुसहर बस्तीकी करिब ६५ वर्षीया पचिया देवीका लागि यो जाडो जीवन र मृत्युको दोसाँध बनेको छ । मागेर जीवन धान्दै आएकी पचिया देवी पछिल्लो समय चिसोका कारण घरबाट बाहिर निस्कनसमेत नसक्ने अवस्थामा पुगेकी छन् ।
“बिहान–साँझ छिमेकी गाउँमा मागेर ल्याएको चामल–दालले ज्यान पालिन्थ्यो,” पचिया देवी भन्छिन्, “तर अब त चिसोले माग्न जान पनि सकिँदैन।”
सानो माटोको घरमा बस्दै आएकी उहाँको जीवन झनै पीडादायी छ । श्रीमानको निधन भएको १२ वर्ष बितिसकेको छ । छोरा भए पनि छुट्टै बसेको र आफूलाई कुनै वास्ता नगरेको पीडा उहाँले सुनाइन् । “श्रीमान हुँदा उहाँले कमाएर ल्याउँथे, अहिले त सहारा कोही छैन,” भन्दै उहाँको आँखा रसाउँछ ।
हाल आफूले पहिल्यै मागेर राखेका केही सामग्रीकै भरमा जीवन धानिरहेको र त्यो सकिएपछि छरछिमेकीले दया गरेर खुवाउने गरेको उहाँ बताउनुहुन्छ । तर चिसो अझै बढे के गर्ने भन्ने चिन्ता उहाँलाई सताइरहेको छ ।
उहाँसँग ठोस कागजात नभएका कारण हालसम्म नागरिकतासमेत प्राप्त गर्न सक्नुभएको छैन ।
सोही बस्तीकी करिब ६० वर्षीया टैंटी देवी माझीको अवस्था पनि उस्तै दर्दनाक छ । जङ्गलबाट दाउरा बोकेर ल्याई बेचेर जीवनयापन गर्दै आएकी उहाँ चिसोका कारण पछिल्ला पाँच दिनदेखि जङ्गल जानै नसकेको बताउनुहुन्छ ।
“जाडोले जङ्गल जानै सकिँदैन, टाउको दुख्छ, शरीर थर्किन्छ,” उहाँ भन्छिन्, “यस्तै चिसो रहिरह्यो भने खानै नपाइने डर छ।”
देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार हुँदासमेत शीतलहरबाट प्रभावित गरिब नागरिकहरू राहतको प्रतीक्षामै छन् । न्यानो कपडा, दाउरा वा खाद्यान्नजस्ता न्यूनतम सहयोगसमेत नपाउँदा मुसहर बस्तीका बासिन्दा सरकारप्रति आक्रोशित छन् ।
नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जय कार्कीले स्थानीय तथा प्रदेश सरकारले तत्काल प्रभावित क्षेत्र पहिचान गरी राहत वितरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “यो केवल चिसोको समस्या होइन, राज्यको संवेदनहीनताको परिणाम हो,” उहाँले भन्नुभयो ।
शीतलहरले जनजीवन कहालीलाग्दो बन्दै गएको अवस्थामा सरकारको उदासीनता नै सबैभन्दा ठूलो पीडा बनेको स्थानीयको गुनासो छ ।
रौतहटका गरिब र असहाय नागरिकका लागि यो जाडो केवल मौसम होइन, जिउँदो यातना बनेको छ ।

ताजा समाचार

Related Articles