रौतहट, २१ पुस । रौतहटमा स्रोत नखुलेको रकमसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । भारतको सितामढी जिल्ला बैरगनियाकी अन्दाजी ४५ वर्षीया रामकली देवीलाई आइतबार गौर नगरपालिका–१ स्थित भन्सार ब्यारेकगेट अगाडिबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नेपाल–भारत सीमाक्षेत्रमा नियमित चेकजाँचका क्रममा पैदल यात्रामा रहेकी ती महिलामाथि शङ्का लागेपछि खानतलासी गरिएको थियो । भन्सार सुरक्षा गार्ड रौतहटबाट प्रहरी हबल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा उहाँको साथबाट नेपाली रुपैयाँ दुई लाख ५० हजार दुई सय र भारतीय रुपैयाँ एक सय बरामद भएको प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिए ।
बरामद रकमको स्पष्ट स्रोत खुल्न नसकेपछि रामकली देवीलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

