रौतहट ६ कार्तिक
रौतहटमा तिहारको मौलिकता हराउदै गएको छ । रौतहटका १८ ओटां स्थानिय निकायहरुमा दिपावलीको अवसरमा खेलिने देउसी भैलो खेल्ने तरिकामा मौलिकता हराउदै गएपछि समाजका अगुवाहरुले चिन्ता गर्न थालेका छन । तिहार पर्वको आकर्षण भनेको देउसी–भैलो हो । तिहार सुरु हुना साथ गाउँका बालबालिका, युवादेखि वृद्धवृद्धा सम्मले देउसी–भैलो खेल्न गरेका छन । तर पछिल्ला वर्ष देउसी–भैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको छ । देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो । तर हिजोआज र्याप, पप र हिन्दी गीतमा युवायुवतीले देउसी–भैलो खेल्दा बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन । आधुनिकताको नाममा देउसी भैलो भड्किलो हुँदै गएको प्रति दुःख लागेको चन्द्रनिगाहपुरका स्थानीय कृष्ण खड्काले तराई पोष्टसँग बताउनु भयो । रौतहटको चन्द्रनिगाहपुरमा केहि बर्ष अघि सम्म पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाएर मौलिकता परम्परा अनुसार देउसी खेल्ने चलन रहेको स्थानिय राजु तिवारीको भनाइ रहेको छ । परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित पारेकाले यसको जगेर्ना गर्नु पर्ने तिवारीले बताउनु भयो । पर्छ उनले तर चन्द्रपुरमा रहेका एक समुहले देउसी–भैलोको कला संस्कृतीको संरक्षण लागी मात्र खेल्ने गरेको पाइएको छ । नेपालमा देउसी–भैलोको आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि मध्यकालदेखि नै सुरु भएको किंवदन्ती छ । देउसी–भैलो खास गरी बली राजासँग सांस्कृतिक पक्ष जोडिएको मान्यता छ । यमपञ्चक सुरु भएपछि देउसी–भैलो खेल्ने प्रचलन छ । तिहारलाई उज्यालो र देउसी–भैलोको पर्वको भएकाले यसको मौलिक परम्पराका बारेमा भावि पुस्तालाई समेत जानकारी दिन आवश्यक देखिएको छ ।

