रुपेन्द्र पटेल
रौतहट, २३ भदौ । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले रौतहटमा प्रदर्शन गरेका छन् । चन्द्रपुर नगरपालिका क्षेत्रमा भेला भएका युवाहरूले चन्द्रनिगाहपुरको मुख्य चौकसम्म परिक्रमा गर्दै भ्रष्टाचारविरोधी नारासहित विरोध प्रदर्शन गरेका हुन् ।
‘भ्रष्टाचार हटाउ, देश बचाउ’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले देशको विकास र समृद्धि रोक्ने प्रमुख कारणकै रूपमा भ्रष्टाचारलाई जिम्मेवार ठहराएका थिए ।
आन्दोलनमा सहभागी युवाहरूले अबको पुस्ताले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता देखाउने र आफ्ना क्षेत्रीय गतिविधिबाट समेत सन्देश दिने बताएका छन् । उनीहरूका अनुसार, राजनीतिबाट प्रशासनसम्म व्यापकमात्रामा फैलिएको भ्रष्टाचार अन्त्य नभएसम्म राष्ट्र विकास असम्भव छ ।

