गरुडा नगरपालिकामा तरकारी बजार सारिँदै, एक महिनाका लागि श्रीराम शुगर मिलको खेल मैदानमा सञ्चालन हुने

रौतहट, १२ असार ।  गरुडा नगरपालिकाले तरकारी बजार सार्ने निर्णय गरेको छ। नगरपालिका अन्तर्गत वडा नं. ४ मा सञ्चालन हुँदै आएको तरकारी बजार स्थानान्तरण गरिने निर्णय गरिएको हो। उक्त स्थानमा हाल तरकारी शेड निर्माण कार्य भइरहेको हुँदा अस्थायी रूपमा नयाँ स्थान तोकिएको जनाइएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार स.वि. गरुडा बैरियाको सहमतिमा बजार स्थानान्तरणको निर्णय गरिएको हो। शेड निर्माणका क्रममा हालको स्थानमा तरकारी बजार सञ्चालन गर्दा आवागमन तथा व्यापारमा समस्या हुने भएकाले वैकल्पिक व्यवस्था गरिएको जनाइएको छ।
यस सन्दर्भमा वडा नं. ४ स्थित श्रीराम शुगर मिलको खेल मैदानमा आगामी एक महिनाका लागि अस्थायी तरकारी बजार सञ्चालन गरिने सूचनामा उल्लेख छ। नगरपालिकाले सो स्थानमा व्यवस्था मिलाइएको र बजार व्यवसायीहरूलाई त्यहाँ नै व्यापार सञ्चालन गर्न अनुरोध गरेको छ।

सार्वजनिक सूचनामा गरुडा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मोहम्मद मुस्ताक आलमको हस्ताक्षर रहेको छ। उनले सबै बजार व्यवसायी, उपभोक्ता तथा सरोकारवालालाई जानकारीको लागि सूचित गरिएको बताएका छन्।
यस निर्णयले बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ भने निर्माण कार्य पनि प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ।

ताजा समाचार

Related Articles