रुपेन्द्र पटेल
रौतहट,३० जेठ । रौतहटमा कुष्ठरोग संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय रौतहटले दिएको जानकारी अनुसार, गत आर्थिक वर्षभरिमा १२४ जना कुष्ठरोगी पहिचान गरिएको थियो भने चालु आर्थिक वर्षको पहिलो १० महिनामै अर्थातः बैशाख सम्ममै ११८ जना नयाँ संक्रमित फेला परिसकेका छन् ।
कुष्ठरोगका नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै यमुनामाई गाउँपालिकामा १७ जना फेला परेका छन् । त्यसपछि गरुडा नगरपालिकामा १६ जना, कटहरिया नगरपालिकामा १३ जना, बौधीमाई नगरपालिकामा १२ जना र माधवनारायण नगरपालिकामा १० जना गरी विभिन्न पालिकाबाट जम्मा ११८ संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख राजेश सिंहका अनुसार जिल्लामा कुष्ठरोगसम्बन्धी सक्रिय पहिचान कार्यक्रम र पर्याप्त जनचेतनाको अभावले गर्दा वास्तविक संक्रमित संख्या अझ बढी हुनसक्ने शंका गरिएको छ । कुष्ठरोगका लक्षण देखिए पनि धेरै नागरिक डर, लाज र जानकारीको अभावका कारण परीक्षण गर्न जाँदैनन्, सिंहले बताए ।
उनले पर्याप्त बजेट नहुँदा टोलटोलमा पुगेर नागरिकहरुलाई आवश्यक जानकारी र सेवा दिन कठिन भइरहेको बताए । सक्रिय पहिचानका लागि गाउँ–गाउँमा पुग्नुपर्ने हुन्छ । तर जनशक्ति र आर्थिक स्रोतको अभावले हामी प्रयास गर्न नसकिरहेका छौं,“ सिंहले भने ।
सिंहका अनुसार कुष्ठरोग छालामा देखिने सामान्य दाग वा घाउबाट सुरु हुने संक्रमण हो, जुन समयमै उपचार नगरेमा गम्भीर शारीरिक अपांगता निम्त्याउन सक्छ । यो रोग जीवाणुबाट सर्ने भएकाले संक्रमितको समयमै पहिचान र उपचार अत्यन्त आवश्यक मानिन्छ ।
सरकारले कुष्ठरोग उपचारका लागि निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ । तर, धेरै नागरिकलाई अझै पनि यो सेवाबारे जानकारी नभएको स्वास्थ्य कार्यालयको भनाइ छ ।
कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता स्वास्थ्यकर्मीहरूले औँल्याएका छन् । विशेषगरी ग्रामीण र सीमान्तकृत समुदायमा रोगबारे भ्रम हटाई स्वास्थ्य संस्थामा पुग्ने वातावरण बनाउनुपर्ने उनीहरूको सुझाव छ ।
स्वास्थ्य कार्यालय रौतहटले कुष्ठरोगको प्रारम्भिक लक्षण देखिएमा नागरिकहरुलाई ढिला नगरी नजिकको स्वास्थ्य संस्था पुगेर परीक्षण गराउन र आवश्यक भएमा औषधि लिन आग्रह गरेको छ । यो रोगको उपचार पूर्ण रूपमा सम्भव रहेको र सरकारले सबै औषधि निःशुल्क प्रदान गरिरहेको जानकारी पनि दिइएको छ ।
स्थानिय तह, स्वास्थ्यकर्मी, समुदाय तथा गैरसरकारी संस्था बीच सहकार्य गरी कुष्ठरोग नियन्त्रणमा ठोस पहल नभएसम्म संक्रमितको संख्या बढ्ने खतरा कायमै रहने चिकित्सकहरु बताउँछन् ।
रौतहटमा हाल देखिएको अवस्था देशका अन्य जिल्लाहरुका लागि पनि चेतावनी हुने चिकित्सकहरूको बुझाइ छ ।

