सर्लाही, १४ जेठ । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको सीमा क्षेत्रमा भन्सार छलेर लैजाँदै गरिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (बीओपी) छतौनाको टोलीले बलरा नगरपालिका–२ स्थित हथियौलाबाट ७९५ थान भेप बरामद गरेको हो ।
भारततर्फ तस्करी गरिँदै गरेको अवस्थामा बीआर ०६ बीक्यू ५४२७ नम्बरको मोटरसाइकल प्रयोग गरिएको थियो। सशस्त्र प्रहरीको उपस्थिती देखेपछि ओसारपसारमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक (सप्रउ) देवबहादुर चन्दले जानकारी दिए।
बरामद गरिएका भेपको बजार मूल्य करिब १५ लाख ५० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। यससँगै बरामद गरिएको मोटरसाइकलसहित सम्पूर्ण सामग्री थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको उपरीक्षक चन्दले जानकारी दिए।
भेपको तस्करी पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा बढ्दो क्रममा रहेको भन्दै प्रहरीले सीमामा निगरानी कडा पारेको जनाएको छ। यस प्रकारका गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा विशेष अपरेशन सञ्चालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

