मेडिकल पसलको आडमा लागूऔषध कारोबार,चेतनगरबाट एक जना पक्राउ

रुपेन्द्र पटेल
रौतहट, २१ बैशाख ।  रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा मेडिकल पसल सञ्चालनको आडमा प्रतिबन्धित लागूऔषध बिक्री भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले आइतबार लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति मौलापुर नगरपालिका निवासी २९ वर्षीय जितेन्द्र साह हुन् । साहले चेतनगरमा फार्मेसी खोलेर बस्दै आएका  थिए । स्थानीय बासिन्दाका  अनुसार साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकिछिपी लागूऔषधको कारोबार गर्दै आएका थिए ।
प्रहरीले गुप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएको टोलीमार्फत छापा मारेको थियो । छापाको क्रममा साहको फार्मेसीबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बरामद लागू औषधसहित साहलाई नियन्त्रणमा लिइएको छ ।
अनुसन्धानका क्रममा साहले बागमती, चन्द्रनिगाहपुर र वरपरका क्षेत्रका युवाहरूलाई नियमित रूपमा लागूऔषध उपलब्ध गराउँदै आएको तथ्य खुलेको प्रहरीले जानकारी दिएको छ । स्थानीयवासीहरूका अनुसार चेतनगरजस्तो शान्त तथा एकान्त बस्तीमा साहले फार्मेसी खोल्नुको उद्देश्य नै लागूऔषध वितरण रहेको थियो ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । लागूऔषध कारोबारमा संलग्नलाई कारबाही अघि बढाइने र यस किसिमका अवैध कार्यविरुद्ध कडा निगरानी गरिने इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका डिएसपी राजकुमार राईले जनाएको छ ।

ताजा समाचार

Related Articles