सप्तरी,१८ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवको पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। बुधबार रातिदेखि फेसबुक र टिकटकजस्ता प्लेटफर्ममा तीव्र गतिमा फैलिएको भिडियोमा यादवलाई पेस्तोल चलाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ।
भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने यकिन भइनसकेको भए पनि यसको दृश्यमा उनीसँगै केही व्यक्तिहरू रमाइलो गरिरहेको देखिन्छ। सार्वजनिक पदमा रहेका नेताले यसरी हतियार प्रदर्शन गर्दै नाचेको दृश्यप्रति सर्वसाधारणले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया जनाएका छन्।
डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन् र राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरीसमेत हुन्। उनी जसपा नेपालको केन्द्रीय सदस्य हुनुका साथै प्रभावशाली नेतृका रूपमा चिनिन्छिन्।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले भिडियोको सत्यता पुष्टि गर्दै अनुसन्धान अघि बढाइएको जानकारी दिए। “भिडियो मैले पनि हेरेको छु,” उनले भने, “अब उहाँलाई बोलाएर सोधपुछ गर्नेछौं। त्यसपछि मात्रै के कस्तो हो भन्ने स्पष्ट हुनेछ।” एसपी खतिवडाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
हालसम्म डा. यादव वा जसपा नेपालले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। राजनीतिक नेतृको यो व्यवहारलाई लिएर प्रश्न उठिरहेका छन्, भने केहीले भिडियोको वास्तविकता नखुलेसम्म निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

