रौतहट, ९ चैत । लामो समयदेखि रौतहटको जङ्गलबाट सर्लाहीतर्फ हुँदै आएको अबैध काठ तस्करीको सूचना पाएपछि वन कार्यालयले सर्लाहीमा छापा मारेको छ । शुक्रबार डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत ललन राउत कुर्मी र अनिल कुमार महतोको संयुक्त कमाण्डमा सशस्त्र वन रक्षक तथा वन हेरालुहरु सहितको टोलीले बरहथवा नगरपालिका–३, पर्ति (मलाह) टोलमा छापा मारेको हो । उक्त छापाका क्रममा सालको ४ थान गोलिया, जम्मा ४५.७३ क्युफिट अवैध काठ बरामद गरिएको वृन्दावन सबडिभिजन वन कार्यालयका वन अधिकृत ललन राउत कुर्मीले जानकारी दिए ।
वन अधिकृत कुर्मीका अनुसार, सर्लाहीका तस्कर समूहले रौतहटको वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतका जङ्गलहरूबाट अवैध रूपमा काठ तस्करी गर्दै आएका थिए । पछिल्लो समय तस्करीको गतिविधि बढ्दै गएको सूचनाका आधारमा विशेष निगरानी राख्दै छापा मारिएको हो ।
वन कार्यालयका अनुसार बरामद काठलाई कानुनी प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ । तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान जारी रहेको बताइएको छ ।

