गौंर भन्सार कार्यालयले ६ महिनामा उठायो साढे १४ करोड बन्दा बढी राजस्व

गौर, १४ माघ । रौतहटको गौंर भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ को पहिलो छ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । कार्यालयले गत साउनदेखि पुस महिनासम्ममा १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिएका छन् ।
भन्सार विभागले यो आर्थिक वर्षको लागि ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँको लक्ष्य तोकेकोमा पहिलो छ महिनामा १७ करोड २१ लाख ९६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । यस अवधिमा १४ करोड ६७ लाख ५५ हजार संकलन भई ८५ प्रतिशत लक्ष्य पूरा भएको सिंहले बताए ।
साउनदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी राजस्व पुस महिनामा संकलन भएको छ । पुस महिनामा ३ करोड ४७ लाख १४ हजार रुपैयाँ संकलन भई लक्ष्यभन्दा १७ प्रतिशत बढी भएको सिंहले जानकारी दिएका छन् । गौर भन्सार कार्यालयले विभागले दिएको वार्षिक लक्ष्य भेटाउने गरी काम गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।
यता रौतहट प्रहरीले गत साउनदेखि पुससम्म २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ मूल्य बराबरका चोरी–निकासीका समानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले यस अवधिमा ६६ जना मानिस, १०८ वटा मोटरसाइकल, २ थान पिकअप भ्यान, २ थान स्कारपियो गाडी, १४ वटा साइकल र ४ वटा सिटी रिक्सा नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिएका छन् ।
यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको उपरीक्षक घिमिरेले बताएका छन् ।
गौर भन्सार कार्यालय र स्थानीय प्रशासनको सहकार्यले लक्ष्यअनुसारको राजस्व संकलनमा टेवा पुग्नुका साथै अवैध क्रियाकलाप नियन्त्रणमा सफलता मिलेको देखिन्छ ।

ताजा समाचार

Related Articles