रौतहट, २६ पुस । रौतहटको विभिन्न स्थानमा पछिल्लो समय जंगली हात्तीले आतंक मचाएको छ । चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा हात्तीले बाली नष्ट गर्ने, घर भत्काउने र जनजीवनमा संकट ल्याउने कार्यमा वृद्धि भएको हो । जंगल छेउका बासिन्दा विशेष गरी कृषकहरु हात्तीका प्रकोपबाट निकै प्रभावित भएका छन् ।
विहिबार राती चन्द्रपुर नगरपालिका क्षेत्रका गैँडाटार र जुडिबेला स्थानमा हात्तीले ठूलो क्षति पु¥याएको छ । यहाँका किसानहरुले करिब एक बिघा क्षेत्रफलमा लगाएको केराखेती नष्ट भएको बताएका छन् । गैँडाटारका किसान लालबहादुर दोङका अनुसार हात्तीले करिब ७ सय केराको बोट नष्ट गरेको छ । उनीसहित अन्य किसानहरु पनि हात्तीको आतंकबाट दुःखी छन् । केरा खेतीमा मात्र होइन, मकै बारीमा पनि हात्तीका कारण क्षति पुगेको छ । चन्द्रपुर–३, गैँडाटारका हरिशरण गौतम र दीपक गौतम लगायत अन्य किसानहरुले हात्तीले मकै, केराका बोट र अन्य बालीनाली नष्ट गरेको जानकारी दिएका छन् । हात्तीको बथानले न केवल कृषकका बाली, तर घरसमेत भत्काइदिएको छ। चन्द्रपुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा विभिन्न स्थानमा हात्तीले आठ घर भत्काएका छन् । गैँडाटार र जुडिबेला जस्ता स्थानमा सात र एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।
पछिल्लो समय यो समस्या अत्यन्तै जटिल बन्दै गएको छ । जङ्गली हात्तीको आतंकले कृषकहरू र स्थानीय बासिन्दाको जीवन कष्टमय बनाएको छ । यस समस्याको समाधानका लागि डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले इनालाइजर उपकरण प्रयोग गर्नुपर्ने बताएका छन् । यो उपकरणले वन्यजन्तुलाई हल्का झटका दिन्छ र तिनीहरूको गतिविधिलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।
साथै, उनले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परामर्श गरेर उक्त उपकरण खरिदका लागि चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका लागि पत्राचार गरेको जानकारी पनि दिएका छन् । तर, यो समस्या यदि तत्काल समाधान नगरेको खण्डमा, रौतहटका कृषक र स्थानीय बासिन्दाको जीवन अझै कठिन बन्दै जाने देखिन्छ । यस्तो अवस्थामा, यो उपायहरू प्रभावकारी भएमा मात्र हात्तीको आतंकलाई कम गर्न सकिन्छ ।