सर्लाही, २० कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको कारबाट दुई जनाको शव फेला परेको छ।
बयलबासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा डुबेको थियो। कारमा तीन जना सवार थिए, जसमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ निवासी ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्कन सफल भए।
तर, कार चालक गौशाला नगरपालिका–१० निवासी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ निवासी ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

