रौतहटको बागमती नदीमा फसेका १६ जनाको उद्धार,ठाउँ ठाउँमा तटबन्ध फुट्यो

रौतहट, १२ असोज । निरन्तर तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बागमती नदीमा फसेका ६० जना भन्दा बढीलाई उद्धार गरिएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नं–१ बलेरी खोर गाउँ नजिकको बागमती नदी बगरमा लामो समयदेखि बसेका केही परिवारहरू अचानक बाढीले घेरिएपछि उद्धार कार्य जारिरहेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तीमध्ये १६ जनाको सकुशल उद्धार गरेको छ भने बाँकी ४४ जनालाई उद्धार गर्ने प्रयास भइरहेको छ । पानीको सतह घटेपछि बोटको सहायताले उनीहरुको उद्धार गरिने योजना रहेको छ ।
त्यस्तै, गढीमाई नगरपालिका १ लक्ष्मीपुरमा बागमती नदीको तटबन्ध फुटेपछि सेना, प्रहरी र स्थानीयले तटबन्ध मर्मतको प्रयास गरिरहेका छन् । यस्तै, कटहरिया नगरपालिका वडा ४ हर्साहा र वडा ३ झौवा गाउँबीच करिब ५० मिटर तटबन्ध फुटेको छ, जसले गर्दा नदीको पानी गाउँतर्फ पसेको छ । हर्साहा गाउँको तटबन्ध पनि टुट्न लागेको हुँदा स्थानीयले माटो राखेर मर्मत गरिरहेका छन् । गाउँलेलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
लालबकैया नदीमा आएको बाढीले मौलापुरस्थित पुलको पश्चिमतर्फको बाटो भासिएको छ, जसका कारण ठुला सवारी साधन आवतजावत गर्न नसक्ने अवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले बलेरी गाउँमा फसेका ४४ जनाको उद्धारको प्रयास जारी रहेको र हालसम्म कुनै मानवीय तथा ठूलो भौतिक क्षति नभएको जानकारी दिएका छन् ।
जिल्लाका अन्य खोलाहरूमा पनि पानीको सतह बढ्दै गइरहेको छ र नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै सुरक्षा निकायले विभिन्न ठाउँमा माइकिङ गरिरहेको छ । रौतहटका ६ वटा पालिकालाई रेड जोनमा राखिएको छ ।
राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिकालाई रेड जोनमा राखिएको हो ।

ताजा समाचार

Related Articles