‘विपद् व्यवस्थापनमा तीनै तहको साझेदारीमा काम भइरहेको छ’

काठमाडौँ, ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा तीनवटै तहको साझेदारी भइरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा तीनै तहका सरकारले सहकार्य र साझेदारी गरिरहेको उल्लेख गरे।

‘सीमित स्रोत र साधनका बाबजुद विपद् प्रभावितको उद्धार, राहत र व्यवस्थापनमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारले अहोरात्र काम गरिरहेका छन्’, उनले भने।

अहिले मनसुनको समय चलिरहेको उल्लेख गर्दै उनले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न र जनधनको क्षति हुन नदिन संवैधानिक र कानूनी प्रावधान बमोजिम तीनै तहबीच समन्वय र सहयोगमा काम भइरहेको बताए।

खाद्य सुरक्षाका सम्बन्धमा सांसदले राखेको जिज्ञासामा उनले विस्तृत आधार भएको दिगो आन्तरिक चक्रीय अर्थतन्त्र विकासका लागि कृषिमा लगानी गर्न कृषिको क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता महसुस गरी कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी गराए।

‘कृषिमा लगानी दशकको अवधारणा कुनै परियोजनाका रुपमा नभई सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी, सहकारी, विकास साझेदार सबैलाई यस क्षेत्रमा अर्थपूर्ण लगानीका लागि अभिप्रेरित गर्ने एक अभियानका रूपमा सरकारले घोषणा गरेको हो’, उनले भने।

 

ताजा समाचार

Related Articles