चन्द्रपुर । नेपालमा जिन्सी प्रमुखको पदस्थापन र तह सम्बन्धी व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधान अनुसार हुन्छ । जिन्सी प्रमुख स्थानीय तहमा नियुक्त गरिने कर्मचारी हुन्, र उनीहरूको तह सामान्यतया पाँचौं वा छैठौं तहका अधिकृत हुनुपर्छ । तर, रौतहटको वृन्दावन नगरपालिकामा एक करारका कर्मचारीलाई जिन्सी प्रमुखको जिम्मेवारी दिएको पाइएको छ ।
वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीले सरकारी नियमको उल्लंघन गर्दै करारका कर्मचारी राजन पटेललाई जिन्सी शाखाको प्रमुख बनाएपछि विवाद उत्पन्न भएको छ । नियमअनुसार, जिन्सी प्रमुख पाँचौं अथवा छटौँ तहका नेपाल सरकारको अधिकृत हुनुपर्छ, तर राजन पटेल नगरप्रमुख कुर्मीका नातामा नाती पर्छन् र भारतबाट मेकानिकल इन्जिनियरिङ सर्टिफिकेट ल्याएका छन् । नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीले यस नियुक्तिलाई गैरकानुनी र अनुचित मानेका छन् । प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले समेत यो निर्णय गैरकानुनी रहेको स्वीकार्दै नगरप्रमुखसँग छलफल गरी यसबारे सुधार गरिने बताए । तर भुजेलले पटेललाई तत्काल जिम्मेवारीबाट हटाउन असमर्थ रहेको समाचार स्रोतको भनाइ रहेको छ । भुजेल दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु अगावै उननलाई जिन्सीको जिम्मेवारी दिएको थियो ।
राजनलाई जिन्सी प्रमुख बनाएपछि वृन्दावन नगरपालिकाका अन्य सेवाहरूमा असर परेको छ । स्थानीयहरूका अनुसार, पालिकाका विभिन्न वडाकार्यालयहरूको सेवा सुस्त भएको छ । स्रोतका अनुसार, राजन पटेल करारका कर्मचारी नभई दैनिकी ज्यालादारीमा काम गर्ने कर्मचारी हुन् । नगरप्रमुख कुर्मी निर्वाचित भएपछि उनलाई कामदारकोे रुपमा काम दिएका थिए ।
तर, नगरप्रमुख कुर्मीको अन्य कर्मचारीमाथिको भरोसा उठेपछि नातामा नाती पर्ने राजनलाई विशवासीलो पात्र मान्दै जिन्सीको जिम्मेवारी दिएको स्रोतको भनाइ रहेको छ । नेपाल सरकारका कर्मचारी हटाएर करारका कर्मचारी जिन्सी जस्तो जिम्मेवार पदमा नियुक्त गर्नु सिधै अनियमता गर्ने उद्देश्य देखिएको कानुनी जानकारहरू बताउँछन् । अनियमितता गर्ने हिसाबले नै उनलाई सो जिम्मेवारी दिएको हुनसक्ने स्थानीयको अनुमान रहेको छ । सो पालिकामा लोकसेवा अगोग पास गरेर आएका पाचौं तहदेखि अठौं तहका नेपाल सरकारका अधिकृतहरुलाई पाखा लगाउँदै नगरप्रमुख कुर्मीले आफ्नै नातेदार र कार्य कर्तालाई विभिन्न प्रमुख पदहरुको जिम्मेवारी दिने गरेको छ ।
समाचार स्रोतका अनुसार नगरप्रमुख कुर्मीले वृन्दावन नगरपालिको शैक्षिक संस्थादेखि विभिन्न सरकारी निकायको समितिहरुको प्रमुख पद समेत आफ्नै नातेगोतेहरुलाई राख्ने गरेको छ ।
सो पालिकामा विगत लामो समयदेखि मेयर र उपमेयर बीचको द्वन्द हुदै आएका हुन् । मेयरले एकलौटी गरेको भन्दै उपमेर संगिता देवी राम विरोध जनाउन थालेपछि उनको सेवा सुविधा समेत खोसिएको आरोप लागेको छ । यो विषयले नगरपालिका भित्रको शासन प्रणाली र जनसेवामा गम्भीर प्रश्न उठाएको छ, जसले गर्दा स्थानीय जनता असन्तुष्ट छन् । नगरप्रमुखको यस निर्णयले कानुनी र नैतिक जिम्मेवारीको उल्लंघन गरेकोमा व्यापक आलोचना भइरहेको छ । यि सबै विषयमा बुझ्न नगरप्रमुख कुर्मीसँग सम्पर्क गर्न खोज्दा उनको मोवाइल सम्पर्क हुन सकेन ।

