रौतहटमा वन कर्मचारीले गस्ती गर्न छोडेपछि प्रहरीले समाउन थाले तस्करीको काठ

रुपेन्द्र पटेल
रौतहट, २९ असार । पछिल्लो समय रौतहटको वनमा चोरी तस्करी बढ्दै गएको छ । जिल्लाको विभिन्न सबडिभिजन वन कार्यालय अन्तर्गतको जङ्गलबाट काठ तस्करी तथा चोरी निकासी बढ्दै गएको हो ।
पानी पर्न थालेपछि वन कर्मचारीहरू गस्ती जान छोडेका कारण तस्कर समूह सक्रिय भएर काठ चोरी तस्करी गर्न थालेका हुन् । वन कर्मचारी यतिबेला गस्ती गर्न छोडेपछि रौतहटको, चोचा, जंगलसहिया, मैरा, रंगपुर, गैडाटार, जुडिबेला, पौराइ, बागमती, चेतनगर वृन्दावन लगायतका सबडिभिजन वन कार्यालय अन्तर्गतका जङ्गलबाट यतिबेला तस्कर समूह सक्रिय भएर साइकल तथा मोटरसाइकलमा काठ चोरी तस्करी गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
यस्तै वन कर्मचारीले गस्ती गर्न छोडेपछि नेपाल प्रहरीले तस्करी हुन लागेको काठ बरामद गर्न थालेका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले तस्करी हुन लागेको दुई थान काठ बरामद गरेका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नं-५ मोतियाहि नगर पुल स्थित साइकलमा जङ्गलबाट चोरी तस्करी गरेर ल्याइरहेको दुई थान सखुवा जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीलाई देखेर तस्करहरु भने काठ र साइकल छोडेर फरार हुन सफल भएको छ ।
शुक्रबार बरामद भएको उक्त काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको रौतहटकी प्रहरी न्यायब उपनिरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

ताजा समाचार

Related Articles