रुपेन्द्र पटेल
रौतहट,४ जेठ । जनकपुरबाट बीरगञ्ज आउँदै गरेको यात्रुवाहक बस रौतहटको जङ्गलमा पल्टिएको छ । शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट बीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस पूर्वपश्चिम राजमार्ग स्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो । अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल हस्पिटल प्रालीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।
घाइते हुनेहरूमा सर्लाहीको बरहथवा बस्ने ५५ वर्षीय अकलबहादुर बिक,रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बस्ने ४३ वर्षीय मानबहादुर परियार, सर्लाहीको हरिवन १ बस्ने ३६ वर्षीय सुरज कुमार भुजेल, सोही स्थानका रिता भुजेल र रिसुझा भुजेल रहेको छ।
यस्तै धनुषाका ३८ वर्षीय कमलेश्वर महतो, धनुषाको महेन्द्रनगर वडा नम्बर ७ बस्ने कौशिला साह, बीरगञ्ज महानगरपालिका ११ बस्ने २५ वर्षीय वासिफ प्रवेश, पर्साको पोखरिया नगरपालिका ८ बस्ने मेनेजर साह तेली, सर्लाहीको बरहथवा ७ बस्ने राम एकवालप्रसाद कुशवाहा, सोही ठाउँ बस्ने मेनु कुशवाहा र अधिराज कुशवाहाको चन्द्रनिगाहपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ।
त्यसैगरी चन्द्रपुर १ का मनिष लामा, सर्लाहीको गुडैता बस्ने बिनोदप्रसाद साह, ईश्वरपुर ६ बस्ने कुमारी लामा, भारत बस्ने ३२ वर्षीय प्रमिला देवी साह, लालबन्दीका कुलबहादुर थापा, जितपुर सिमराकी रिता रायमाझी, हरिओनकी सम्झना दाहाल, पर्साको जयलाल राय र राजकुमार पण्डित, हरिवनका रामखेलावन महतो, बाराका दीपा अधिकारी र तुलसा चालिसे, ईश्वरपुरका सुखमाया, बीरगञ्जका राम अगेसा, रौतहटको गढीमाई ३ बस्ने मोसाबी अन्सारी, बरहथवा बस्ने बिरु बेगम, केशव गुप्ता र हरियोनका सावित्री देवीको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आचार्यले जानकारी दिए ।
घाइते मध्ये सबैको अवस्था सामान्य रहेको र एकजना भारत बस्ने प्रमिला देवी साहको अवस्था मध्यम रहेको छ। उनको टाउको र मुखमा चोट लागेको बताइएको छ ।
यता बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ बस्ने राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिघापुरले नियन्त्रणमा लिएको छ।

