नेकपा एसलाई कमजोर नठान्न माधव नेपालको चेतावनी

  1. रौतहट, ७ बैशाख । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाम्रो पार्टीलाई सानो र कमजोर ठान्ने भुल नगर्न चेतावनी दिएका छन् ।
    यदी सानो र कमजोर ठान्नु भने उलट पलट हुन सक्ने उनले चेतावनी दिएका हुन् । रौतहटको गौर नगरपालिका वडा नं–२ महादेवपर्टी स्थित बाणेश्वर महादेव स्थान नजिक लालबकैया नदीमा निर्माण सम्पन्न भएको झुलुंङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै नेता नेपालले यस्तो चेतावनी दिएका छन् ।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै रौतहट क्षेत्र नं–१ का प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले नेकपा एसलाई सानो वा कमजोर ठान्ने भुल गर्यो भने त्यो सह्य हुन सक्दैनन् सत्ता गठबन्धन प्रति संकेत गर्दै उनले भने, हाम्रो भूमिका कसै भन्दा कम छैनन्, हामी कसैको दास होइनौं, कसैको इशारामा हिड्दैनौं, हामी स्वाभीमानी छौं र हाम्रो आफ्नै मूल्य मान्यता एवम् महत्व छुट्टै रहेको उनले बताए ।
    सुदुर पश्चिममा ४ सिट हाम्रो रहेको हुँदा अहिले हाम्रै मुख्यमन्त्री रहेको बताउँदै बागमती, मधेश, सहितका प्रदेशमा हाम्रो सहभागीता विना सरकार बनाउने कल्पना समेत गर्न नसकिने भएकोमा हाम्रो महत्व कसै भन्दा कम नरहेको उनले बताए ।
    यसैबीच अध्यक्ष नेपालले गौरमा एक प्रवेश द्वारको शिलान्यास तथा अर्को योजनाको उद्घाटन समेत गरेका छन् ।
    चालु आर्थिक वर्ष गौर नगरपालिकाको नगरस्तरीय योजना बाट गौर नगरपालिका– ७ सिसवास्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा निर्माण हुने नगर प्रवेश द्वारको अध्यक्ष नेपालले शिलान्यास गरेका हुन् । राजपुर नगरपालिका र गौर नगरपालिकाबीच सीमानामा निर्माण हुन लागेको गौर नगरपालिका प्रवेश द्वारले गौर नगरपालिकाको सीमा प्रारम्भ र अन्त्य भएको संकेत गरिने छ ।
    ६७ लाखको लागतमा निर्माण हुने उक्त नगरस्तरीय प्रवेश द्वारको ठेक्का अनमोल निर्माण सेवा गौर नगरपालिका– ४ लाई परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले जानकारी दिए । २०८२ साल वैशाख भित्रमा निर्माण कार्य सकिने सो प्रवेश द्वारको लम्बाई करिब १०० फिट रहेको बताइएको छ । प्रवेश द्वारको निर्माण गौर चन्द्रनिगाहपुर सडक ४ लेन विस्तारलाई मध्यनजर गर्दै डिजाइन गरिएको हो ।

ताजा समाचार

Related Articles