रौतहटको वनमा लागेको डडेलोका तुवालोले सर्वसाधारणको आँखामा असर

रौतहट, ३० चैत । रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको मौनताका कारण रौतहटको वनमा भीषण आगलागी भएको हो । चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आग लागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिने तर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । केहीदिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा जलेर नष्ट भएको थियो ।

वनमा लागेको डडेलो वन कर्मचारीले नियन्त्रणमा लिनका लागि कुनै पनि प्रयास नगरेका कारण सो दाउरा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् ।डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारीहरूको मौनताका कारण रौतहटको घना वनमा आगलागी भएको स्थानीयको आरोप छ ।

संघ सरकार र प्रदेश सरकारले डडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रौतहटमा पठाएको पैसा समेत वन कर्मचारीले एक दिन ¥याली निकालेर स्वाहा पारेको स्वयं वन कर्मचारीहरूनै बताउँछन् ।

डढेलो नियन्त्रणका बारे प्रचारप्रसार गर्नको लागि र चेतनामूलक कार्यक्रम गर्नका लागि डिभिजन वन कार्यालय रौतहटमा संघ सरकार र प्रदेश सरकार मातहतका वन मन्त्रालयले रकम पठाएको भएपनि सो रकम डिभिजन वन कार्यालय रौतहटले एक दिन चेतनामूलक ¥याली गरेर सकेको वन कर्मचारीहरूले बताएका छन् ।

वन कर्मचारीहरूको चरमलापारवाहीका कारण वनमा लागेको डडेलोका कारण जङ्गली जनावरको बासस्थान समेत नष्ट भएको छ । वनमा डडेलो लाग्दा जङ्गली जनावरहरू गाउँ छेउमा पुग्ने र बाली खाने गरेका कारण स्थानीय बासिन्दाले जंगली जनावरको सिकार समेत गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय रौतहटमा यतिबेला कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबै रौतहटका स्थानीय कर्मचारी भएका कारण कसैलाई कसैले नटेर्ने गरेको वन कर्मचारीहरू नै बताउँछन् । डढेलो नियन्त्रणका लागि पनि ऊ जाने त्यो जाने भन्दै वन कर्मचारीहरू पन्छने गरेका कारण रौतहटको वनमा पछिल्लो समय भीषण आगलागि हुँदा लाखौं बराबरको काठ दाउरा समेत जलेर नष्ट भएको छ ।

डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले वनमा लागेको आगो नियन्त्रणका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

रौतहटको वनमा लागेको आगो नियन्त्रणमा नआउँदा त्यसबाट निस्किएको प्रदूषणका कारण गाउँ तथा बजारको वातावरण नै तुवालोमय भएको छ । वनमा लागेको डडेलोको तुवालोले सर्वसाधारणको आँखामा गम्भीर असर परिरहेको चन्द्रनिगापुरमा रहेको सिम्स अस्पताल प्रालीका डाक्टर रामकिशोर साहको भनाइ रहेको छ ।

यता तुवालोले सर्वसाधारणको आँखा पिरो हुन थालेपछि समाजिक सञ्जालमा टिका टिप्पणी समेत हुन थालेको छ ।

ताजा समाचार

Related Articles