रुपेन्द्र पटेल
रौतहट, १९ चैत । सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै रौतहटका तीन सहित २६ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका रौतहटका तीनसहित २६ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिन भित्र लिखित जवाफ पेश गर्न अल्टिमेटम दिएको हो ।
रौतहटको चन्द्रपुर–६ का श्री रोशिस कन्स्ट्रक्सन, चन्द्रपुर–५का श्री उमंग ट्रेडर्स र चन्द्रपुर–१ श्री पौराई बाबा कन्स्ट्रक्सन प्रा.लि. निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएका छन् ।
रौतहटका यि तिनै निर्मामाण कम्पनीलाई चन्द्रपुर नगरपालिकाले कालो सूचीमा राख्न लेखी पठाएइएको सार्वजनिक सुचनामा भनिएको छ ।
यसअघि कार्यालयले ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाउँदा पनि ती व्यवसायीले अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरेको जनाएको छ ।
स्पष्टीकरण माग गरिएका २६ निर्माण कम्पनीमध्ये भारतका दुई र चीनको एक गरी तीन अन्तर्राष्ट्रिय र बाँकी २३ वटा नेपाली कम्पनी छन् ।
ती कम्पनीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने र कारबाही गर्ने जनाएको छ ।